काठमाडौं । अहिले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा को आधिकारीक भन्ने बहस जोडतोडका चलिरहेको छ । यो बीचमा सत्तारुढ नेकपासँग आफ्नो दल नेपाल कम्युनिस्ट पार्टीको नाम जुधेको भन्दै ऋषिराम कट्टेलले सर्वोच्च अदालतमा हालेको मुद्दामा सुनुवाइ समाप्त भएको छ ।

अदालतले फागुन २० गते सुनुवाइ सुनाउने जनाएको छ । कट्टेलले दायर गरेको मुद्दामा न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले बिहीबार सुनुवाइ सकेको हो ।

सुनुवाइ सकिएपछि फागुन २० गते निर्णय सुनाउने तय भएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनुभयो । अध्यक्ष कट्टेलले निर्वाचन आयोगलाई समेत विपक्षी बनाउनु भएको थियो ।

सत्तारुढ नेकपा आन्तरिक विवादमा रहेको अवस्थामा नाम बारेको विवादमा फैसला आउन लागेको हो । २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी .नेकपा) गठन भएको थियो । त्यसपछि कट्टेलले निर्वाचन आयोगमा उजुरी दिनु भएको थियो ।

उक्त उजुरीमा सुनुवाइ गर्दै निर्वाचन आयोगले २०७५ कात्तिक ९ गते केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पक्षमा निर्णय गरेको थियो । आयोगको उक्त निर्णयविरुद्ध कट्टेलले २०७५ साल मंसिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु