काठमाडौं । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर भारतले भर्खरै मुख खोलेको छ । भारतले सर्वोच्व अदालतले गरेको प्रतिनिधिसभा विघटनको निर्णय बदरको फैसलालाई नेपालको आन्तरिक मामिला भन्दै प्रतिकृया जनाएको हो ।

भारतको विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा फैसलाका सम्बन्धमा भारतको के प्रतिक्रिया छ भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा अनुराग श्रीवास्तवले त्यस्तो जवाफ फर्काउनु भएको हो ।

उहाँले भारत नेपालको सर्वोच्च अदालतको फैसलाबारे जानकार भएको पनि बताउनुभयो । भारतले विगत केही महिनादेखि नेपालको राजनीतिक घटनाक्रमलाई नजिकबाट हेरिरहेको पनि उहाँले जानकारी गराउनुभयो ।

भारतले पहिले झै यस विषयलाई पनि नेपालको आन्तरिक मामिला मानेको उहाँको धारणा रहेको छ । प्रवक्ता श्रीवास्तवले यसअघि जस्तै नेपालले यस किसिमका आन्तरिक विषयलाई आफ्नो लोकतान्त्रिक पद्धति र प्रणालीमार्फत निर्णय गर्नेमा आफुहरु विश्वस्त भएको पनि स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय सम्बन्धमा पनि भारतले आन्तरिक मामिला भन्दै आएको थियो । विगतमा नेपालका सानातिना राजनीतिक घटनाक्रममा समेत आफ्नो धारणा सार्वजनिक गर्ने गरेको भारतले पछिल्ला वर्षहरुमा त्यस्तो गरिरहेको छैन ।

सम्बन्धित खबरहरु