काठमाडौं । सर्वोच्व अदालतले संसद् विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेपछि आज मन्त्रिपरिषद् बैठक बसेको छ । सरकारले यही फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिसको निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा मन्त्रालयगत नियमित एजेन्डाहरुमा पनि छलफल भएको थियो । तपाईंलाई जानकारी गराउ कि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेका थिए ।

सर्वोच्चले ती मुद्दाहरूमाथि सुनुवाइ गर्दै फागुन ११ गते प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको विघटन घोषणा असंवैधानिक भन्दै प्रतिनिधिसभा पुनस्स्थापना गरेको थियो । सर्वोच्चले १३ दिनभित्र बैठक बस्ने गरी व्यवस्था गर्न राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका नाममा परमादेश जारी गरेको थियो ।

सम्बन्धित खबरहरु