काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य देबेन्द्र पौडेलले जनताबाट प्राप्त विश्वासको मत खेर जान नदिने बताउनुभएको छ । नेकपा जैमिनी नगरकमिटीले आज कुश्मीसेरामा आयोजना गरेको जनसभामा नेता पौडेलले सरकारलाई काम गर्न कसैले नरोकेको तर्क गर्नुभयो ।

असंवैधानिक कदम चाल्ने अनि काम गर्न नदिएको भन्ने आरोप झूट भएको बताउँदै सो समूहका गण्डकी प्रदेश इञ्चार्जसमेत रहनुभएका उहाँले संसद् पुनःस्थापनासँगै जनताको मतलाई थप सदुपयोग गरेर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पार्टी केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले वर्तमान समस्या संसद्बाट हल भएर जाने विश्वास व्यक्त गर्नुभयो । प्रचण्ड–नेपाल पक्षधर नेकपालाई संसदीय दलको नेता छान्ने अधिकार रहेको बताउँदै उहाँले संसदीय दलको नेतासमेत आफुहरूले तय गर्ने बताउनुभयो । उहाँले सूर्य चिह्न आफुहरूले नै पाउनुपर्ने जिकीर गर्नुभयो ।

सम्बन्धित खबरहरु