काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले विना पूर्वाग्रह कानून, विधि र प्रक्रियामा रहेर भ्रष्टाचार नियन्त्रणको कामकारबाहीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले भ्रष्टाचार नियन्त्रणको कामलाई प्रभावकारी बनाउने बताउनु भएको हो ।

घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा प्रमुख आयुक्त राईले नागरिक समाज र जनअपेक्षाअनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्ने उल्लेख गर्नुभयो ।

उहाँले नागरिकको अपेक्षा र सञ्चारमाध्यमहरुले उठाएका विषयलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन र भ्रष्ट्राचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि प्रक्रिया र कानूनसम्मत ढङ्गले काम गर्ने बताउनुभयो ।

उहाँले आफ्नो कार्यकालमा विगतमाभन्दा प्रभावकारी ढंगले भ्रष्ट्राचार निवारणको काम हुने विश्वास व्यक्त गर्नुभयो । प्रमुख आयुक्त राईले आफ्नो कार्यकालमा भ्रष्टाचारको तथ्य र प्रमाणका आधारमा कसैलाई पनि कारबाही गर्न पछि नहट्ने स्पष्ट पार्नुभयो । निर्दोष व्यक्तिलाई फसाउन खोज्नेलाई पनि कारबाहीको दायरामा ल्याउने उहाँको दावा छ ।

सम्बन्धित खबरहरु