काठमाडौं । आगामी चैत २७ देखि २९ गतेसम्म अन्तरराष्ट्रिय गणित सम्मेलन हुने भएको छ । नेपाल गणित समाजको आयोजनामा अप्रत्यक्ष माध्यमबाट हुने सम्मेलनमा नेपाललगायत विश्वका १० देशका २०० बढी गणित विज्ञको सहभागिता हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष डा चेतराज भट्टले जानकारी दिनुभयो ।

उहाँले गणितको महत्व र गणित विधाको अनुसन्धान गर्नका लागि सम्मेलन आयोजना गरिएको बताउनुभयो । सम्मेलनमा गणित विषयका २३ वटा विधा समेटिएको छ । उहाँले सरकारले पनि गणित विषयलाई अवमूल्यन गरिरहेको अवस्थामा गणितको अन्तर्राष्ट्रिय महत्व कति छ भन्ने बुझाउन पनि सम्मेलनले सार्थकता राख्ने बताउनुभयो ।

सम्मेलनमा नेपाली गणितज्ञले अन्तरराष्ट्रिय मञ्चमा आफ्नो धारणासमेत राख्नेछन् । सम्मेलनबाट गणित विधामा विश्वव्यापीरूपमा भइरहेका अध्ययन अनुसन्धानबारे नेपाली गणितज्ञ परिचित हुने र देशभित्र भइरहेका अध्ययन अनुसन्धान अन्तरराष्ट्रिय जगत्मा परिचित गराउने उद्देश्य रहेको छ ।

सम्मेलनमा पाँचवटा कार्यपत्र, २५ आमन्त्रित कार्यपत्र प्रस्तुत गरिनेछ । गत वर्ष गर्न भनिएका सम्मेलन कोरोना भाइरसका कारणले चैतमा हुन थालेको हो । नेपालमा ५० भन्दा बढीले गणितमा विद्यावारिधि र सयभन्दा बढीले एमफिल गरेका छन् ।

सम्बन्धित खबरहरु