काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेवा संस्कृति र परम्परा नेपालको अमूल्य निधि रहेको बताउनुभएको छ । नेवा गुठी खल मकवानपुरको वार्षिक साधारणसभालाई हेटौंडामा सम्बोधन गर्दै उहाँले नेवारी परम्पराको संरक्षण र संवद्र्धन गर्दै आफ्नो पहिचान जोगाउन गुठीको भूमिका महत्वपूर्ण रहेको जनाउनुभयो ।

मुख्यमन्त्री पौडेलले नेवा गुठीले निर्माण गर्न लागेको शंखधर साख्वा उद्यानको सफलताको कामना गर्दै हरेक परियोजना सफल बनाउन निरन्तर सक्रियताको आवश्यकता पर्ने बताउनुुभयो ।

उहाँले उद्यान निर्माणका लागि प्रदेश सरकारले तत्काल रु १० लाख बजेटको व्यवस्था गरेको र आगामी वर्षमा पनि यसमा रकम थप गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले हेटौँडामा रहेका निजी क्षेत्रबाट निर्मित तीन महत्वपूर्ण पर्यटकीयस्थलको उदाहरण दिँदै ती निरन्तरको सक्रियता र लगनशीलताका कारण चर्चित पर्यटकीय उद्यान बनेको धारणा राख्नुभयो ।

हेटौँडाका शहीद स्मारक, कुष्माण्डा सरोवर र हर्नामाडी कला प्रतिष्ठानको गुम्बा डाँडा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको बताउँदै उहाँले बीसौं वर्षको लगानशीलता र प्रतिबद्धताका कारण ती स्थल पर्यटकीयस्थलमा परिणत भएकाले त्यस्तै प्रतिबद्धता भए मात्रै उद्यान निर्माण सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले साख्वा उद्यानलाई नेवार समुदायको संस्कृति झल्किने गरी निर्माण गरेर नेवारी संस्कृतिको अध्ययन केन्द्रका रुपमा विकास गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

यसैबीच गुठी खलले बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलाई सम्मान गरेको छ । नेवार समुदायबाट राजनीतिक क्षेत्रमा लागेर सफलता प्राप्त गरी नेवारी समुदायको गौरव बढाएवापत श्रेष्ठलाई सम्मान गरिएको गुठी खलले जनाएको छ ।

सम्बन्धित खबरहरु