काठमाडौं । सत्तारुढ नेकपा ओली पक्षका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर देखाउन चुनौती दिनु भएको छ । प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहलाई अविश्वासको प्रस्ताव पारित गर्न चुनौती दिनु भएको हो ।

आइतबार झापाको कमलगाउँपालिका–७ झर्काहामा चीन–नेपालमैत्री औद्योगिक पार्कको शिलान्यासपछिको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतले संसद् पुनःस्थापना गरेपछि सरकार ढलिहाल्छ भन्ने नसोच्न सुझाव दिनुभयो ।

उहाँले कुनै पनि हालतमा आफू नेतृत्वको सरकार ढल्न सम्भव नभएको पनि स्पष्ट पार्नुभयो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘सरकार कुनै पनि हालतमा ढल्दैन ।

संसद्‌मा दाहाल–नेपाललाई बहुमतले अविश्वासको पारित गरेर देखाउन चुनौती दिन्छु ।’ प्रधानमन्त्री ओलीले जनताले ल्याएको परिवर्तन जनताले रक्षा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

वर्तमान परिवर्तनका लागि आफूले वर्षौंदेखि संघर्ष गरेको पनि उहाँले जानकारी दिनुभयो । ओलीले आफूसँग संघर्षमा रहेका नेताहरू अहिले नभएको पनि उल्लेख गर्नुभयो । निर्दलीय पञ्चायती व्यवस्था भएको बेलामा सघंर्ष गरेर, जेलनेल सहेर यहाँसम्म देश ल्याएको पनि उहाँको जिकिर रहेको छ ।

सम्बन्धित खबरहरु