काठमाडौँ । मिस नेवाः को ग्राण्ड फिनालेमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कृषा महर्जन मिस नेवाः ११४१ ताज पहिरिएकी छिन् । नेप्लिज फेसन होमको आयोजनामा शनिबार सम्पन्न मिस नेवाःको मुख्य टाइटलसँगै उनले बेस्ट नेपालभाषा टाइटल पनि जितिन् । काठमाडौं डल्लु निवासी महर्जनले यस टाइटलसँगै एक लाख नगद पुरस्कार जितेकी छिन् ।

कार्यक्रममा फर्स्ट रनर अप प्रिया तण्डुकार र सेकेण्ड रनर अप क्रिस्टिना महर्जनले जितेका छन् । यी टाइटलसँगै तण्डुकारले मिस पब्लिक च्वाइस र महर्जनले मिस चार्मिंग टाइटल पनि हात पारे ।

त्यसै गरी मिस फ्रेण्डशीप, मिस फोटोजेनिक र मिस ट्यालेन्ट मनिका खड्गी, मिस बेस्ट स्माइल सौर्य शाही, मिस बेस्ट स्क्रिन र सोसल वेरफेयर रोहिना महर्जन, मिस बेस्ट हेयर र मिस पर्सनालिटी लेनिका डंगोल, मिस डिसिप्लिन एञ्जिला अवाले, मिस बेस्ट ड्रेस मनिषा महर्जन हुन सफल भएका छन् ।

प्रतियोगितमा परिचयात्मक चरणमा निर्णायकहरुको प्रश्नको उत्तरबाट सात प्रतिस्पर्धी छानिएका थिए । अन्तिम चरणमा सात प्रतियोगीलाई शारिरीक चोट र हृदयमा लाग्ने चोटका बारेमा लिखित प्रश्न सोधिएको थियो । पाँच मिनेटमा लेखिएका उत्तरहरु मध्येबाट महर्जन मिस नेवाः ११४१ बन्न सफल बनेकी थिइन् ।


कार्यक्रममा सूचना तथा संस्कृति मन्त्री पार्वत गुरुङ्ग प्रमुख अतिथि थिए । सन् २०११ का मिस नेवाः सुनिता डंगोल र रोजेन शाक्यले संचालन गरेको उक्त कार्यक्रम नेपाल टेलिभिजन र नेवाः प्राइड फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

 

सम्बन्धित खबरहरु