काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टको डिएनए परीक्षणका लागि पठाइएको छ ।

डिएनए परीक्षणका लागि रगतलगायत आवश्यक पर्ने अन्य वस्तु राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँ ल्याइएको हो । डिएनए परीक्षणबाट अनुसन्धानमा आवश्यक परेका थप कुराको पुष्टि हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

परीक्षण रिपोर्ट केही दिनमै आउने भएको छ । यसअघि भागरथीको भजाइनल स्वाब पनि प्रयोगशाला पठाइएको भए पनि परीक्षण रिपोर्ट भने आएको छैन ।

गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जङ्गलमा मृत फेला परेकी थिइन् । त्यसपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गत फागुन ५ गते प्रहरीले दिनेशलाई सार्वजनिक गरेको थियो ।

भागरथी प्रकरणमा संलग्न दिनेशमाथि अनुसन्धानका जिल्ला अदालतबाट तेस्रोपटक म्याद थप गरिएको छ । अनुसन्धानका लागि प्रहरीले तेस्रोपटक थप पाँच दिनको लागि अनुमति पाएको हो ।

यसअघि फागुन ५ गते पहिलोपटक र फागुन १० गते दोस्रोपटक म्याद थप गरिएको थियो । शुक्रबार तेस्रोपटक अनुमति पाएपछि थप अनुसन्धान काम भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

अनुसन्धानको फाइल केही दिनमै सरकारी वकिल कार्यालयमा बुझाउने तयारी रहेको छ । उहाँले भन्नुभयो, “आवश्यक पर्ने सबै कुरा जुटाइरहेका छौँ, अनुसन्धानमै छौँ ।

अहिले नै सबै कुरा भन्न मिल्दैन ।” दिनेश नाबालक रहेकाले २१ दिनभित्र हिरासतमा राखेर अनुसन्धान सक्नुपर्ने हुन्छ । सोहीअनुसार अनुसन्धान कार्य जारी रहेको हो ।

दिनेशले यसअघि प्रहरी, घरपरिवारसहित सरकारी वकिल कार्यालयमा लिइएको बयानमा आफुले गरेको करतुत गरेको स्वीकारेका थिए । जिल्ला अस्पतालमा गरिएको भागरथीको लाश परीक्षण रिपोर्टमा पनि सम्बन्ध बनाएर ज्यान लिएको उल्लेख छ ।

भागरथी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविमा कक्षा १२ र आरोपित दिनेश पनि सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिए । दिनेश र भागरथी एउटै गाउँका हुन् । उनी दुवैबीच दिदीभाईको नाता पर्दछ ।

सम्बन्धित खबरहरु