काठमाडौं । रौतहटमा नेकपा दाहाल–नेपाल समूहका नेता योगेश भट्टराई चढेको गाडीले एक जनालाई ठक्कर दिएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार राति साइकल यात्रुलाई भट्टराई सवार गाडीले ठक्कर दिएको हो ।

ठक्करबाट घाइते साइकल यात्रुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । घटनापछि प्रहरीले धनुषा बटेश्वर–७ घर भएका स्करपियो चालक धर्मदास महत्तोलाई नियन्त्रणमा लिएको छ ।

जनकपुरबाट पार्टीको कार्यक्रम सकेर हेटौंडा जाँदै गर्नुभएका नेता भट्टराई सवार ज १ झ ४२७ नम्बरको स्करपियोले साइकल यात्री चन्द्रपुर ६ का ५५ वर्षीय ईन्द्रप्रसाद घिमिरेलाई साढे ७ बजेतिर ठक्कर दिएको हो ।

दक्षिणबाट साइकल चढेर उत्तर लाग्नु भएका घिमिरे स्करपियोको ठक्करबाट घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताउनुभयो । घाइते घिमिरेलाई नजिकको सिभिल अस्पताल लगिएको थियो ।

अस्पतालले थप उपचारका लागि काठमाडौं रिफर गरेको ईलाका प्रहरी चन्द्रनिगाहपुरले जनायो । घिमिरको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

घटनापछि नेता भट्टराई केहीबेर इलाका प्रहरी चन्द्रनिगाहपुरमा बस्नु भएको थियो । त्यसपछि उहाँ अर्को सवारीमार्फत हेटौंडा जानुभयो ।

सम्बन्धित खबरहरु