काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको एकिन भएको छ ।

ट्युमर देखिएपछि उहाँ स्वास्थ्य परीक्षणका लागि दिल्ली पुग्नुभएको थियो । उहाँको दिल्ली बसाई विवादित समेत बन्यो । नेपालको राजनीतिक घटनाक्रममा चलखेल गर्न मात्र दिल्ली जानुभएको भन्दै सामाजिक सञ्जालमा आलोचना भयो । उहाँ आज फर्किर्दै हुनुहुन्छ ।

स्वास्थ्य परीक्षण पूरा भएपछि पूर्वप्रधानमन्त्री भट्टराई आज नेपाल वायु सेवा निगमको विमानमार्फत नेपाल फर्किन लाग्नुभएको सचिवालयले जनाएको छ । उहाँ दिउँसो २ बजे दिल्लीबाट काठमाडौं प्रस्थान गर्ने भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।

न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली पुग्नुभएका भट्टराईले त्यहाँस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराउनुभएको थियो । बायोप्सी परीक्षणपछि चिकित्सकहरुले क्यान्सर नभएको निष्कर्ष निकालेपछि उहाँ फर्किन लाग्नुभएको हो ।

तर, दुई–तीन महिनामै ट्युमरलाई शल्यक्रिया गरी निकाल्न चिकित्सकले सुझाव दिनुभएको छ। तत्कालै शल्यक्रिया नभए क्यान्सरको खतरा हुने चिकित्सकको सुझाव छ । भट्टराई यही फागुन ९ गते नयाँ दिल्ली जानुभएको थियो ।

सम्बन्धित खबरहरु