काठमाडौं । सर्लाहीको सीमावर्ती क्षेत्रका दुई स्थानमा बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरिएको छ । सशस्त्र प्रहरी प्रदेश नं २ छिन्नमस्ता बाहिनीले जिल्लाको विष्णु गाउँपालिका– १ र मलङ्गवा नगरपालिका–९ गरी दुई स्थानमा बिओपी एकै साथ उद्घाटन गरेको हो ।

छिमेकी देश भारतसँग खुला सिमाना रहेका कारण गैरकानूनी तथा आपराधिक गतिविधि हुुनुका साथै सीमा सुरक्षामा समेत पटकपटक समस्या आउने गरेकाले नेपाल सरकारले सिमानामा बिओपीको सङ्ख्या थप गर्ने घोषणा गरेपछि जिल्लामा बिओपीको सङ्ख्या थप्ने काम निरन्तर भइरहेको छ ।

प्रदेश नं २ का आठ जिल्लामा ४६४ किलोमिटर खुला सिमाना रहेको र त्यसमध्ये ५१ किलोमिटर खुल्ला सिमाना सर्लाहीमा मात्र रहेकाले जिल्लाको सुरक्षा चुनौतीलाई ध्यानमा राखेर पछिल्लो निरन्तर रुपमा बिओपी स्थापना गर्ने काम भइरहेको छ । विष्णु गाउँपालिका–१ स्थित १० औँ बिओपी स्थापना गरेको सशस्त्र प्रहरीले मलङ्गवा नगरपालिका–९ मा आज नै ११ औँ बिओपीको उद्घाटन गरेको छ ।

सर्लाही जिल्लाभर खुला सिमाना रहेको ५१ किलोमिटरमा १७ बिओपी स्थापना हुने भए पनि निरन्तर काम भएको र हालसम्म ११ औँ बिओपी स्थापना भइसकेको सशस्त्र प्रहरी बल १० नम्बर हे क्वा कविलासीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गङ्गा श्रेष्ठले जानकारी दिनुभयो । बाँकी रहेका छ स्थानमा बिओपी पनि चाँडै स्थापना गरिने उहाँको भनाइ छ ।

खुला सिमानाका कारण भन्सार छली, मानव बेचबिखन, आपराधिक क्रियाकलाप, हातहतियार खरखजानालगायतका गैरकानूनी क्रियाकलाप न्यूनीकरणका लागि नेपाल सरकारले सिमानामा बिओपीको सङ्ख्या थप गरेको सशस्त्र प्रहरी प्रदेश नं २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरीका डिआइजी चन्द्रप्रकाश गौतमले बताउनुभयो ।

कार्यक्रममा सम्बन्धित स्थानीय तहका प्रमुख, उपप्रमुखका साथै नेपाल प्रहरीका प्रहरी उपरीक्षक, अनुसन्धान उपनिर्देशक, सहायक प्रमुख जिल्ला अधिकारीलगायत सशस्त्र प्रहरी बलका प्रदेश नं २ का आठवटै जिल्लाका सशस्त्र प्रहरी उपरीक्षकको सहभागिता थियो ।

सम्बन्धित खबरहरु