काठमाडौं । नेपाल सरकार र विप्लव समूहबीच वार्ता सकरात्मक मोडमा पुगेको छ । यसैबीच आज तेस्रो चरणको वार्ता बिहीबार बिहानैदेखि सुरु भएको हो ।

बुधबार बिहान र बेलुकी दुई चरणको वार्ता भएपछि तेस्रो पटक आज दुईपक्ष संवादमा जुटेका हुन् ।

सरकारले विप्लव समूहका नेता, कार्यकर्तामाथिको धरपकडलाई रोक्न प्रहरीलाई निर्देशन दिएको छ ।

बालुवाटार निकट स्रोतका अनुसार अहिले भइरहेको छलफलमा समूहका राजनीतिक एजेण्डाबारे कुराकानी भइरहेको छ ।

प्रतिबन्ध फुकुवा र जेलमा रहेका नेता, कार्यकर्ताको रिहाइ गर्न सरकार बुधवार नै सकारात्मक रहेको थियो ।

जानकारी अनुसार सरकारले चाँडै मन्त्रिपरिषद् बैठक बोलाएर विप्लवमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरिरहेको छ ।

वार्ता टोलीका सदस्यले सरकारतर्फबाट आएको प्रस्तावबारे महासचिव विप्लवसँग समेत कुरा गरिसकेको खुलेको छ ।

विप्लव समूहले वार्तामा बस्नु अगावै प्रतिबन्ध फुकुवा र कारागारमा रहेका नेता, कार्यकर्ताको रिहाइ हुनुपर्ने माग राख्दै आएको थियो ।

वार्तामा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई रहनु भएको छ ।

अर्कोतर्फ विप्लव समूहबाट भूमिगत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दिपक’ रहनु भएको छ ।

तपाईंलाई जानकारी गराउ कि सरकारले २८ फागुन २०७५ मा विप्लव माओवादीमाथि प्रतिबन्ध लगाएको थियो ।

सम्बन्धित खबरहरु