काठमाडौं । अमेरिकी सरकारले एक नेपाली चेलीलाई उच्च सम्मान दिएको छ । अमेरिकाले तेजावसम्बन्धी अपराधविरुद्ध सक्रिय नेपाली किशोरी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्न लागेको हो ।

तेजाब अपराध अन्त्यतर्फ लक्षित उहाँको कार्यका लागि सो पुरस्कार प्रदान गर्न लागिएको नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ । अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल घोषणा कार्यक्रमको आयोजना गर्नुहुने जनाइएको छ ।

हाल १५औँ वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले प्रायः ठुलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मानमा प्रदान गर्ने गरिन्छ ।

सन् २०१९ मा मुस्कान १५ वर्षकी छँदा एक किशोरका प्रेम–प्रस्ताव अस्वीकार गरेपछि अपराधीको सिकार हुनुभएको थियो । उहाँको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो ।

उहाँको स्वास्थ्यलाभ पीडादायी थियो र आजका दिनसम्म पनि जारी छ । यसका बाबजुद मुस्कानले एक दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गर्नुभयो ।

सम्बन्धित खबरहरु