काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको जानकारी दिनु भएको छ ।

हिंसात्मक द्वन्द्वमा रहेको नेकपा (विप्लब समूह) सँग तीन बुँदे सहमति भएपछि मुलुकमा अब द्वन्द्वात्मक हिंसाको अन्त्य भएको स्पष्ट पार्नुभयो ।

सरकार र विप्लब समूहबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले यस्तो कुरा बताउनु भएको हो ।

नेपाल र नेपाली जनताले शान्ति खोजेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सामाजिक न्याय र समानता, अधिकारसम्म पुग्ने अवसरको प्राप्ती, लोकतन्त्रको रक्षा र शान्ति चाहेको उहाँले चर्चा गर्नुभयो ।

उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’ स्थापित गर्न शान्तिपूर्ण वातावरणको आवश्यकता पर्ने भन्नुहुँदै प्रधानमन्त्री ओलीले महासचिव चन्दले ऐतिहासिक जिम्मेवारी वहन गर्नुभएको भन्दै सरकार र पार्टीको तर्फबाट धन्यवाद पनि व्यक्त गर्नुभयो ।

उहाँले अहिले भएको सहमति रातारात भएको कुरालाई मान्न अस्विकार गर्नुभएको छ । विप्लब पक्षसँग छलफल र वार्ता गरेको दशौं वर्ष पुगेको उहाँले स्मरण गर्नुभयो । सहमति कार्यान्वयनको चरणमा कुनै समस्या आए वार्ताद्वारा सहमति खोजिने प्रष्ट पार्नुभयो ।

यो सहमतिले नेपाललाई नयाँ युगमा प्रवेश गराएको ओलीको बुझाई रहेको छ । यसअघि सिके राउतसँग पनि यसैगरी वार्ताबाट सहमति गरी शान्तिको मूलधारमा ल्याएको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभयो ।

सम्बन्धित खबरहरु