काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आफ्नो पक्षमा बहुमत सांसद जुटाएर अविश्वास प्रस्ताव विफल पार्ने रणनीति अघि सारेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आइतबार हुने बैठकमा अविश्वास प्रस्ताव आए डटेर सामना गर्ने शनिबार बालुवाटारमा आयोजित संसदीय दलको बैठकमा आफू पक्षका सांसदहरूलाई सुनाउनु भएको थियो ।

ओलीले नेकपा दाहाल–नेपाल समूहका सांसद आफ्नो पक्षमा आउने दाबी गर्दै प्रतिनिधिसभामा अविश्वास प्रस्ताव आएमा डटेर सामना गर्ने जानकारी दिनुभयो ।

भ्रममा परेर र बाटो बिराएर गएका सांसद आफ्नो पक्षमा आउने उहाँको दाबी रहेको छ । उहाँले दाहाल–नेपाल समूहका नेताहरूलाई इंगित गर्दै सडकमा गएर दलको नेता आफैं हुँ भन्नुको अर्थ नभएको उल्लेख गर्नुभयो ।

उहाँले कानुनी रूपमा आफूहरू ठीक ठाउँमा रहेको तर्क गर्दै कतिपय नेता र सांसद नियत बिग्रेर र भ्रममा परेर सडकमा गएको प्रधानमन्त्री ओलीको बुझाई रहेको छ । उहाँले बाहिर रहेका सांसद तथा नेताहरू छिट्टै आफ्नो समुहमा फर्कने दाबी गर्नुभयो ।

दाहाल–नेपाल समूहले प्रतिनिधिसभामा राजीनामा माग्ने बताइरहेका बेला ओलीले अविश्वास प्रस्तावको सामना गर्ने जानकारी दिनुभयो । उहाँको यो भनाइले आफ्नै पक्षमा बहुमत देखाउन खोजेको प्रस्ट भएको बैठकमा सहभागी एक सांसदले जानकारी दिनुभयो ।

कतिपयले प्रधानमन्त्री ओलीले नै विश्वासको मत लिनुपर्ने तर्क अघि सार्नुभएको छ तर उहाँ आफैं विश्वासको मत लिने पक्षमा नरहेको देखिएको छ । करिब सवा घण्टा सञ्चालन भएको बैठकमा ओलीले सांसदहरूलाई प्रतिनिधिसभामा भूमिका प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।

सम्बन्धित खबरहरु