विराटनगर । माइक्रोमा मोटरसाईकल ठोक्किएर भयानक दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा सडक खण्डमा आज विहान दुर्घटना भएको हो ।

सुन्दरहरैँचा नगरपालिका–८ र ७ को सिमानास्थित मध्याली पुलनजिक हायस माइक्रोमा मोटरसाइकल ठोक्किएको थियो । उक्त दुर्घटनामा मोटरसाइकलमा सवार मोरङको बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

दुर्घटनामा परी घाइते भएका उनीहरुको विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माका अनुसार काठमाडौंबाट यात्रु लिएर झापाको बिर्तामोडतिर जाँदै गरेको बा ४ ख ६९६ नम्बरको हायस माइक्रो र विपरीत दिशा आइरहेको प्रदेश २–०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

तीव्र गतिमा रहेको मोटरसाइकल एक्कासि हायसको अगाडिको भागमा ठोक्किन पुग्यो । मध्याली पुलनजिक बाइक ठोक्किदा बाइक धेरै माथी उछिटियो भने माइक्रो कुच्चियो ।

दुर्घटनापछि मोटसाइकलमा आगलागी समेत भएको थियो। जसका कारण मोटसाइकल आगलागीमा परेर पूर्ण रुपमा जलेको छ। दुर्घटनामा हायसका चालक काठमाडौं बस्ने २८ वर्षीय गणेश थापा र सह–चालक मोरङ बेलबारीका अन्दाजी १८ वर्षीय उत्सव गिरी गम्भीर घाइते भएका छन्।

गम्भीर अवस्थाका दुवै जनाको विराटनगरस्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। माइक्रोमा सवार अरुको अवस्था भने सामान्य छ ।

सम्बन्धित खबरहरु