काठमाडौं । पुनःस्थापित संसदको पहिलो बैठकमा नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष केपी शर्मा ओली समूह र प्रचण्ड–माधव नेपाल समूह दुबै सत्तापक्षकै लहरमा बस्ने भएका छन् । दुबै समूहका सांसदहरु सत्तारुढ दलकै लहरमा बस्ने भएका हुन् ।

दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेकाले नेकपाका दुवै पक्षका सांसदहरुलाई एउटै लहरमा बस्ने व्यवस्था मिलाइएको संसद सचिवालयले जनाएको छ ।

आइतबार अपराह्न संसद बैठक बस्नुअघि संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पत्रकार सम्मेलन गरी दुबै समूहलाई एउटै लहरमा बस्नेगरी ब्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

उहाँले ‘दलको दुईवटा समूहको छलफल चलिरहेको र दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेकाले एउटै रोमा बस्ने व्यवस्था मिलाइएको छ भन्नुभयो ।’

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि नेकपा दुई खेमामा विभाजित छ । एउटा खेमाको नेतृत्व प्रधानमन्त्री ओलीले र अर्को खेमाको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले गर्नुभएको छ ।

सरकारले गत पुस ५ गते संसद विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले फागुन ११ गते असंवैधानिक ठहर गर्दै संसद पुनःस्थापना हुने फैसला गरेको थियो ।

सोही पुनःस्थापित संसदको बैठक आइतबार अपराह्न चार बजे बस्दै छ । यो बैठक निक्कै रोचक देखिनेछ । लामो समय एकठाउँमा नबसेका नेताहरु अब एक आपस नजिक बस्ने भएका हुन् ।

सम्बन्धित खबरहरु