सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका स्थानीय तहले अन्तर्राष्ट्रिय खुला तथ्यांक दिवस मनाएका छन् । दिवसको अवसरमा जिल्लाका विभिन्न पालिकाहरुले अवलम्बन गरेका प्राविधिक संयन्त्रसम्बन्धी एक दिने सिकाइ आदानप्रदान कार्यशाला सम्पन्न भएको छ ।

सेसी नेपालको सहयोगमा टुकी संघ सुनकोशीमार्फत् सुशासन परियोजनाको सहयोगमा विभिन्न पालिकाका प्रतिनिधि, पालिकाका पदाधिकारीको उपस्थितिमा सिकाइ आदानप्रदान कार्यशाला सम्पन्न भएको हो ।

जिल्लाको बाह्रविसे नगरपालिका तथा सुनकोशी गाउँपालिकाले प्रयोग गरिरहेका प्राविधिक संयन्त्रहरू र नागरिक स्तरमा उपयोगितासम्बन्धी सिकाइ आदान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यशालामा सरोकारवाला निकाय तथा सबै पालिकाका प्रतिनिधिहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

आफ्नो धारणा व्यक्त गर्दै गाउँपालिका महासंघका अध्यक्ष एवं जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले भने, ‘सरकारी काम कारवाहीलाई जनमुखी बनाई नागरिक सहभागिता अभिवृद्धि गराउने प्राविधिक संयन्त्रहरुको अभाव रहेको अवस्थामा सुशासन परियोजनाले विकास गरेका औजारहरुको हामीले पनि प्रयोग गरिरहेका छौँ ।

र आज यस दिवसको अवसर पारेर खुला सरकार घोषणा र खुला सरकार निर्माणको लागि पालना गर्नुपर्ने सबै शर्त पालना गरिएको, खुला सरकारका लागि सरकार नागरिक सहभागिता, पारदर्शिता र उत्तरदायित्वमा प्रतिबद्ध छ।’

बाह्रविसे नगर तथा सुनकोशी गाउँपालिकाबाट प्रतिनिधित्व गरेका वडाध्यक्ष्हरुले प्रविधिको विकासले पालिकाको नियमित कामकारबाही सञ्चलान गर्न सहज भएको र पालिकासँग सम्बन्धित जानकारी, सूचनाहरु डिजिटाइज गरी नागरिकहरुका लागि खुल्ला गरिएको साझा धारणा व्यक्त गरे ।

उक्त दिवसको अवसर पारेर, प्रविधि हस्तान्तरणका नोट, सर्भर सुरक्षा अडिटलगायतका दस्तावेजहरू सम्बन्धित पालिकाका प्रतिनिधिहरुलाई शनिबारदेखि हस्तान्तरणको प्रकृया सुरु भएको जानकारी गराई थप आवश्यक सुधार परिमार्जन गरी पूर्ण रुपमा हस्तान्तरण गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

उक्त दस्तावेजहरू टुकी संघ सुनकोशीका कार्यकारिणी समितिका अध्यक्ष माधव प्रसाद पौडेलद्वारा पालिका प्रतिनिधिहरुलाई हस्तान्तरण भएको हो ।

यहि दिवसको अवसरमा, सुशासनको कार्यक्षेत्र सुनकोशी गाउँपालिका र बाह्रविसे नगरका स्थानीयहरुले अबदेखि मोबाइल एप्लिकेसनबाट नै सिफारिसका लागि आवेदन दिन सक्ने र त्यसका लागि सुनकोशी र बाह्रबिसेको मोबाइल एप डाउनलोड गरी सेवा सुविधाको पहुँचमा रहन सक्ने विषयमा उक्त विशेषताको पनि सुरुवात गरिएको छ ।

सिकाइ आदनप्रदान कार्यशालामा बाह्रबिसे नगर तथा सुनकोशी गाउँपालिकाका सूचना प्रविधि अधिकृतसहित सुशासन परियोजनाको सिको गरिरहेका अन्य पालिका मेलम्ची नगरपालिका, जुगल गाउपालिकाले पनि आफ्नो सिकाइ अनुभुत गर्दै आवश्यक पृष्ठपोषण तथा सुझाव दिएका थिए ।

सुशासनको लागि प्राविधिक साझेदार संस्था योङ्ग ईन्नोभेसेनबाट शौरभ भट्टराई तथा सेसी नेपालबाट रचना मगरले खुल्ला आँकडा, खुल्ला सरकार र दिवसको विषयमा सुशासन सम्यन्त्रको उपलब्धि र उपादेयताको विषयमा स्थानीय तहका पदाधिकारीहरु समक्ष छलफल गरे ।

सुशासन परियोजनाका लागि राष्ट्रिय साझेदार संस्था फ्रिडम फोरमले सैद्धान्तिक पक्षमा र योङ्ग ईन्नोभेसनले प्राविधिक संयन्त्रहरूको विकासमा साझेदारी गर्दै आएको छ ।

सुशासन परियोजना ग्लोबल अफेयर्स क्यानडाको आर्थिक सहयोग, सेसी नेपालको साझेदारीमा टुकी संघ सुनकोशीमार्फत् बाह्रबिसे नगरपालिका र सुनकोशी गाउँपालिकामा जवाफदेही अभिवृद्धिका लागि सञ्चालन भइरहेको छ ।

सम्बन्धित खबरहरु