काठमाडौ । नेपाल बोर्डर आउट पोष्ट वीरगञ्जमा आज एउटा अनौठो घटना देखियो । शरीरमा बाँधेर लुकाइछिपाइ साढे १९ लाख रुपैयाँ बोकेर एक भारतिय नेपाल प्रवेश गरेको देख्दा प्रहरी नै चकित बनेको छ ।

स्रोत नखुलेको साढे १९ लाख रुपैयाँ रकम बोकेर नेपाल आएकाले वीरगञ्जको सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला रक्सौल नगरपालिका–२१ घर भएका ३६ वर्षीय राजेशकुमार साह रहेका छन् ।

उनलाई वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेट क्षेत्रबाट स्रोत नखुलेको १९ लाख ५१ हजार १ सय २० नेपाली रुपैयाँसहित शनिबार पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनले शरीरमा बाँधेर लुकाइछिपाइ ल्याउँदै गरेको रकम फेला परेपछि पक्राउ गरेको जनाइएको छ । उनले नेपाल भारतमा हुने अवैध कार्य र प्रक्रियाबाट संकलित रकम ल्याएको हुनसक्ने आशंका गरिएको छ ।

सम्बन्धित खबरहरु