काठमाडौ । लामो प्रतिक्षापछि ग्लोबल आइएमई बैंकको ऋणपत्र बिक्री खुला भएको छ । बैंकले आजदेखि ३० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १८ लाख इकाई ऋणपत्र भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ।

बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला भएको हो । यसबाट सामूहिक लगानी कोषलाई ५५ अर्थात् ६० हजार इकाई छुट्याएको छ । सर्वसाधारणले बाँकी ११ लाख ४० हजार इकाईका लागि आवेदन दिन सक्नेछन् ।

यस ऋणपत्रमा वार्षिक ८.५० प्रतिशत ब्याजदर पाइनेछ । बैंकले प्रति इकाई १ हजार रुपैयाँ दरमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले १० वर्ष अवधिको ‘८.५०५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६–८७’ नाममा ऋणपत्र जारी गरेको हो ।

बिक्री प्रबन्धकको काम सेञ्चुरी क्यापिटलले गरेको छ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको छ ।

यो ऋणपत्रमा छिटोमा चैत ४ गते सम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने चैत १६ गतेसम्म भर्न सकिनेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी परिचालनका लागि ऋणपत्र जारी गर्ने क्रम बढेको छ । यस्तै, केन्द्रीय बैंकको बाध्यकारी व्यवस्था पूरा पनि गर्नुपर्ने हुन्छ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४० प्रतिशत ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ ।

सेयर भन्दा ऋणपत्र फाइदा छ । यो डुब्ने डर हुन्न । तोकिएको ब्याज पक्का पाइन्छ । तर यो घटबढ भने हुँदैन । यसैले फाइदाको हिसाबमा हेर्ने हो भने सेयर धेरै हुनसक्छ । तर जोखिमको हिसाबमा हेर्ने हो भने ऋणपत्र राम्रो छ ।

 

सम्बन्धित खबरहरु