काठमाडौं । झण्डै चार महिनापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल लयागतका नेताहरुबीच पार्टी कार्यालय धुम्बाराहीमा वार्ता भएको छ ।

 

वार्तास्थलबाट नेताहरु बाहिर निस्कनु भएको हो । वार्ताबारे जानकारी दिदै नेता रघुजी पन्तले सकारात्मक भएको प्रतिकृया दिनुभयो । बैठकमा सबैले आआफ्ना अडान राखेको भन्दै अध्यक्ष कमरेडले त्यसलाई सकारात्मक रुपमा अगाडि बढाउने आशा गरेको जनाउनुभयो ।

उहाँले आफूहरुले फागुन २८ गतेको निर्णय फिर्ता लिन आग्रह गरेको बताउनुभयो । उहाले अदालतले एमालेलाई सुदृढ बनाउने अवसर दिएको र अब त्यस तर्फ लागौं भन्ने कुरा विशेष महत्वका साथ अगाडि बढेको जनाउनुभयो । अब सोही रुपमा बार्ता अगाडि बढ्ने भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान समस्या समाधान आन्तरिक बैठकबाटै समाधान गर्नुको विकल्प नरहेको भन्नुहुँदै मिलेर अघि बढ्न नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई प्रस्ताव गर्नुभएको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेताहरुबीचको मतान्तर कायमै छ, तर छलफलबाटै सहमतिमा पुग्ने विषयमा सबैको सहमति छ । नियमित छलफल बस्ने र समस्याको सामधान खोज्नेमा आफुहरु एक ठाउँमा पुगेको उहाँले स्पष्ट पार्नुभयो । तर अर्को बैठक कहिले बस्नेबारेमा टुङ्गो लागिसकेको छैन ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ७ गते शनिबारका लागि केन्द्रीय कमिटी बैठक आव्हान गरिसक्नुभएकाले बैठकमा सकारात्मक छलफल हुनेगरी वातावरण बन्ने विश्वास नेता नेम्वाङले गर्नुभयो । बैठकमा सबै नेताले धारणा राख्नेकाम भएको छ, अर्को बैठकबाट सहमतिको मिलनविन्दुमा पुग्नसकिने उहाँले बताउनुभयो ।

बैठकमा माधवकुमार नेपाल पक्षका नेताहरुले फागुन २८ गते बालुवाटारमा भएको केन्द्रीय कमिटीको निर्णय खारेज गर्नुपर्ने मागराख्नुभयो । नेता भीमबहादुर रावलकाअनुसार सो निर्णय खारेज भएमात्र बाँकी छलफल सकारात्मकरुपमा अगाडि बढ्छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिको आधारमा अगाडि बढ्न नेपाल पक्षका नेताहरुलाई आग्रह गर्नुभएको नेता रावलले जानकारी दिनुभयो । छलफलमा आफ्ना कुराहरु राख्ने काम भएको र सबैले सबैको कुरा गम्भीरतापूर्वक सुन्ने काम भएको नेता रघुजी पन्तले बताउनुभयो ।

नेपाल पक्षले ४ गते बुधबार र ५ गते विहिबार राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरिसकेको छ । सोहीअनुसार ७ गते केन्द्रीय कमिटीको बैठक आव्हान भएका बेला आज भएको बैठकले पार्टीको आन्तरिक विमति कम गर्नेमा सघाउ पुग्ने विश्वास नेताहरुले गर्नुभएको छ । करिब दुई घण्टा भएको छलफलमा नेताहरुको मन माझ्नेकाम गरेको बैठकमा सहभागी नेताहरुले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, संसदीय दलका उपनेता नेम्वाङको सहभागिता थियो । त्यस्तै नेता नेपाल, नेता रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्तको सहभागिता रहेको थियो ।

सम्बन्धित खबरहरु