काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले उच्च अदालत पाटनको गत माघ २ गतेको फैसलाअनुसार बैंकिङ कसूर मुद्दामा दोषी ठहरिएका तारकेश्वर नगरपालिका–३ जीतपुरका ५७ वर्षीय विजयकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गङ्गा पन्तले उच्च अदालत पाटनले तीन दिन कैद र रु नौ लाख ५० हजार जरिवाना ठहर गरेपछि फरार रहेका श्रेष्ठलाई काभ्रेस्थलीबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

“पक्राउ परेका श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको अवस्थामा झुक्यानमा पारी कुमारी बैँक लिमिटेड नयाँ बसपार्कको चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । पक्राउ परेका श्रेष्ठलाई उच्च अदालत पाटनले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला गरेको थियो ।

सम्बन्धित खबरहरु