काठमाडौं । प्रतिनिधिसभा बैठक सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओली संसद् भवन पुग्नु भएको छ । यसअघिको बैठकमा सभामुखले बैठक समयमा सञ्चालन नगरेको आरोप लगाउँदै बैठकमै नबस्नु भएका प्रधानमन्त्री ओली मंगलबार भने समयमै सुरु भएको बैठकमा पुग्न सक्नु भएन् ।

मंगलबार १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सभामुख अग्निप्रसाद सापकोटाले १ बजेर २ मिनेट जाँदा सञ्चालन गर्नुभएको थियो । आजको बैठकमा शोक प्रस्ताव पारित गर्ने र सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन मात्रै गर्ने कार्यसूची रहेको थियो ।

मंगलबारको बैठक ७ मिनेट मात्रै चलेको थियो । प्रधानमन्त्री ओली भने बैठक सकिनेबित्तिकै १ बजेर ९ मिनेट जाँदा संसद् भवन पुग्नुभयो । प्रधानमन्त्री मात्रै होइन, अधिकांश मन्त्रीहरु पनि बैठक सकिएपछि संसद् भवन पुग्नु भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको चियापानबाट आउँदाआउँदै बैठक सकिएको हो । नेकपा एमाले अध्यक्ष पनि रहनु भएका ओलीले आज आफ्नो पक्षका नेताहरुका लागि चियापान आयोजना गर्नुभएको थियो ।

मंगलबार बालुवाटारमा ओलीले सांसद र केन्द्रीय सदस्यलाई चियापानमा बोलाए पनि वरिष्ठ नेता माधवकुमार नेपाल र वामदेव गौतम समूहले भने बहिष्कार गरेको थियो ।

सम्बन्धित खबरहरु