काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै आज सम्पन्न भएको छ ।

भेलाले पार्टी विधान विपरित विधान संशोधन, केन्द्रीय कमिटीका पदाधिकारीको जिम्मेवारी हेरफेर र परिवर्तन तथा पार्टी सदस्यसमेत नरहेका व्यक्तिलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने गत फागुन २८ गतेको निर्णय अवैधानिक रहेको ठहर गरेको छ ।

भेलाले गत फागुन २८ गतेको निर्णय रद्द गरी क्रमशः स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीको बैठक बोलाई विधि र पद्धतिसम्मत छलफल गर्न माग गरेको छ ।

भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई अवैधानिक ठहर गर्दै संसद् बैठक बोलाउने सर्वोच्चको फैसलाको स्वागतसमेत गरेको छ ।

भेलामा पूराना कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमलप्रसाद कोइराला, राधाकृष्ण मैनाली, शीतल झा, केशरमणि पोखरेललगायत सहभागी हुनुुहुन्थ्यो । बुधबार शुरु भएको भेलामा देशभरबाट नेपाल पक्षीय अगुवा नेता कार्यकर्ताको उपस्थिति थियो ।

सम्बन्धित खबरहरु