काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामा हार ब्यहोर्नु भएका महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएसँगै नयाँ महान्यायाधिवक्ताको चर्चा सुरु भएको छ ।

जानकारी अनुसार सरकारले महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडालको नाम सिफारिस गरेको छ । शुक्रबार दिउँसो महान्यायाधिवक्ता खरेलले राजीनामा दिएपछि सरकारले अधिवक्ता बडालको नाम सिफारिस गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट स्रोतले खरेलको राजीनामापछि बडालको नाम सिफारिस गरिएको बताएको छ । अधिवक्ता बडाल एमालेनिकट ट्रेड युनियन जिफन्टका उपाध्यक्षसमेत हुनुहुन्छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ । २०७४ फागुन ८ गते महान्यायाधिवक्तामा नियुक्त खरेलले प्रधानमन्त्रीलाई भेटेर पदबाट राजीनामा दिनु भएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामा सरकारका तर्फबाट राम्ररी प्रतिरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट भएको र त्यसैलाई लिएर राजीनामा दिएको बुझिएको छ ।

सम्बन्धित खबरहरु