काठमाडौं । काठमाडौँको दक्षिणकालीस्थित चाल्नाखेलमा दुई विद्यार्थी मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । काठमाडौँको बाङ्गेमुढामा बस्ने उनीहरु चाल्नाखेलमा मृत फेला परेका हुन् ।

घटना शङ्कास्पद देखिएकाले प्रहरीले अनुसन्धान थालेको छ । मृत्यु हुनेमा नुवाकोट घर भई काठमाडौँ बस्दै आएका १६ वर्षका अर्जुन खड्का र काभ्रेपलाञ्चोकका १८ वर्षीय मङ्गल तामाङ रहेका छन् । दुवै कक्षा १० का विद्यार्थी हुन् ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले घटनास्थल नजिक विषादीका बोतल फेला परेकोसमेत बताउनुभयो । प्रहरीले कुकुरसहित फरेन्सिक ल्याबको टोली लगेरसमेत घटनास्थलको अनुसन्धान गरेको छ ।

प्रहरीका अनुसार उनीहरु बिहीबार बिहानदेखि घरबाट हराइरहेका थिए । शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको र रिपोर्टपछि मात्रै मृत्युको कारण भन्न सकिने बस्नेतले बताउनुभयो ।

सम्बन्धित खबरहरु