काठमाडौं । विनाअपराध ४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार दिउँसो रिहा हुनु भएको छ । भारतीय सञ्चारमाध्यमहरुको बाक्लो उपस्थितिका बीच जेलबाट छुट्नेबित्तिकै संक्षिप्त प्रतिक्रिया दिदैँ आफु निर्दोष भएको भन्नु भएको हो । भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर (सेन्ट्रल जेल) मा रहेका उहाँ कोलकाता उच्च अदालतको आदेशबमोजिम रिहा हुनु भएको हो ।

शारीरिक र मानसिक रुपमा कमजोर उहाँ आइतबार नेपाल पुग्ने जनाइएको छ । दुर्गाप्रसादलाई लिन भाइ प्रकाशचन्द्र दमदम जेल पुग्नुभयो । अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र शुक्रवार अपरान्ह अदालतले जेल पठाएको थियो । त्यही पत्रका आधारमा जेल प्रशासनले छाडेको हो ।

कोलकाता उच्च अदालतका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले बुधबार उहाँलाई छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि भाइ प्रकाशचन्द्र सहयोगी संस्था विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नेतसहित कोलकाता पुग्नु भएको थियो ।

दुर्गाका वकिल हिरक सिन्हाका अनुसार हरेक ६ महिनामा मानसिक अवस्थाबारे कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराउनुपर्नेछ । महावाणिज्य दूतावासले पुन: अदालतलाई जानकारी गराउने छ ।

सम्बन्धित खबरहरु