काठमाडौं । प्रदेश नं २ का उपसभामुख उपमा देवले समाजमा महिलालाई कमजोर बुझ्ने पुरानो मानसिकतामा क्रमिकरूपले परिवर्तन हुँदै गएको बताउनुभएको छ ।

सखी बहिना मैथिलानी समूहद्वारा जनकपुरधाममा आयोजित संस्था दर्ता शुभकामना एवं होली उत्सवमा उपसभामुख देवले परिवारमा छोरीको जन्मसँगै वियोगको वातावरण र दुःखको संसार सम्झिने मनोविज्ञानको अन्त्यको प्रयास हरेक क्षेत्राट हुनु जरूरी छ भन्नुभयो । महिलालाई मान, सम्मानले अवसरमा सहभागितासँगै प्रतिभाले कमजोर नभएको प्रमाणित गरेको प्रसङ्ग पनि उहाँले उल्लेख गर्नुभयो ।

प्रदेशसभा सदस्य रामअशीष यादवले सखी बहिना सुरभि भएको चर्चा गर्दै भाषा, संस्कार, सभ्यताको संरक्षणमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको धारणा राख्नुभयो ।

उहाँले समाजमा विकृतिको गन्ध विस्तार भइरहेको अवस्थामा सखी बहिना समूहको अभियानले विकृतिको अन्त्यसँगै संस्कारित समाजको निर्माणका लागि गरिरहेको पहल प्रशंसनीय रहेको छ भन्नुभयो ।

जिल्ला समन्वय समितिका उपप्रमुख दीपक झाले सखी बहिना समूहले समाजमा महिला सशक्तीकरणको पक्ष र भाषा, सभ्यता, संस्कृतिको रक्षा गर्ने सवालतर्फ गम्भीरतापूर्वक क्रियाशील रहेको उदाहरण प्रस्तुत गर्नुभयो ।

अभियानकर्मी डा अखिलेश झाले संस्था विधिवत्रूपले दर्ता भई सङ्गठित भएकामा खुशी व्यक्त गर्दै एकजुट भई सभ्यता, संस्कृति, संस्कारको रक्षा गर्ने पक्षमा अग्रसर हुनु जरूरी भएको धारणा राख्नुभयो ।

संस्थाका संस्थापक आरती झाले संस्थालाई सबैले सहयोग गर्नु अपरिहार्य भइसकेको बताउँदै आगामी दिनमा महिलाका सीप र सिर्जनालाई प्रवद्र्धन गर्ने अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।

उत्सवमा अग्रज सखी अरूणा मिश्रले संस्था समतामूलक समाज निर्माणको पक्षमा क्रियाशील रहेको प्रकाश पार्नुभयो भने अग्रज सखी पुनम झा मैथिल, कार्यक्रम संयोजक भारती चौधरी संस्थागत विकासकार्यमा सहयोगका लागि सबै पक्षसँग आग्रह गर्नुभयो ।

उत्सवमा कुसुम विसौनाको जोगिरा टीमले जोगिरा, गायक नवीन मिश्र, गायिका सङ्गीता देव, श्यामा झा, विन्दु ठाकुर, मीना ठाकुर र ज्योति झा, वन्दना झाले गोसाउनी र होरी गीत प्रस्तुत गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु