काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र गुटगत राजनीति थप सक्रिय हुन थालेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकटका नेताहरूको भेला बोलाउनु भएको हो । स्रोतका अनुसार पौडेल निवास बोहराटारमा आज पौडेलले भेला डाक्नु भएको हो ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक नबोलाएको, प्रधानमन्त्री केपी शर्मा ओली सरकार ढाल्न अग्रसरता नदेखाएको तथा १४ औं महाधिवेशन तयारीका लागि गर्नुपर्ने कामहरू नभएकोमा ध्यानाकर्षण गराउन बैठक बोलाइएको हो ।

गत साता पौडेलले महामन्त्री शशांक कोइराला निवासमा आफू निकटका नेताहरूको भेला गरेर प्रधानमन्त्रीबाट ओलीको विकल्प खोज्नुपर्ने बताउनु भएको थियो ।

बैठक सकेर उहाँले सभापति देउवालाई फोन गरेर सरकारको नेतृत्व कांग्रेसले लिने गरी माओवादी केन्द्र र जसपासँग कुराकानी गर्न भन्नु भएको छ ।

तर देउवाले नयाँ सरकार बनाउन चासो देखाइरहनु भएको छैन । पूर्वप्रधानमन्त्री देउवा परिस्थिति अनुकूल भइनसकेको र संसदमा अझै पनि ओली बहुमतमा रहेको बताउँदै आउँनु भएको छ ।

सम्बन्धित खबरहरु