काठमाडौ । काठमाडौं, तनहुँ, सिरहा र दाङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित खाली जग्गामा रहेको मोटर ग्यारेजमा पार्किङ गर्ने क्रममा ना।५ ख ४८०० नम्बरको बसको ठक्करबाट हाल नाम, थर, वतन, नखुलेका करिब २२ वर्षीय पुरुषको सोमबार दिउँसो मृत्यु भएको छ ।

बसका सहचालकले बस पार्किङ गर्ने क्रममा ती पुरुषलाई ठक्कर दिँदा गम्भीर घाइते भई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । बसका सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँ, ब्यास नगरपालिका-५ सिर्दीस्थित सडकमा ग.८ प ६६३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको नालीमा खसेर सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ५१ वर्षीय टिकाराम क्षेत्रीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार शुक्ला गण्डकी-४ दुलैगौडा बस्ने ४९ वर्षीय सुर्य सुबेदीलाई सोही अस्पताल हुँदै फेवासिटी अस्पताल पोखरा पठाइएको छ ।

सिरहा, नरहा गाउँपालिका-२ पानबारीस्थित सडकमा स.६ प ९१५१ र स.८ प २२५० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा स।६ प ९१५१ नम्बरको मोटरसाइकलका चालक बिष्णुपुर गाउँपालिका-४ बस्ने २८ वर्षीय दिपु पासवान र स.८ प २२५० नम्बरको मोटरसाइकलमा सवार गोलबजार बस्ने २५ वर्षीय गुरुदेव महतो रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

साथै घाइते भएका स.६ प ९१५१ नम्बरको मोटरसाइकलमा सवार २ जनाको विराटनगर नर्सिंङहोम र स.८ प २२५० नम्बरको मोटरसाइकलमा सवार १ जनाको नर्सिंङहोम लाहानमा उपचार भइरहेको छ ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-१५ स्थित सडकमा रा।१ क ४३३ नम्बरको ज्ञान ज्योती बोर्डीङ स्कुलको बस पल्टिदा बसमा सवार सोही उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीया सन्जना केसीको मंगलबार बिहान मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी उनको प्रादेशिक अस्पताल तुलसिपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते भएका १८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ४ जनालाई उपचारका लागि कोहलपुर बाँके पठाइएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खबरहरु