काठमाडौं । कोरोना संक्रमण बढेसँगै सरकारले आइसोलेसन र क्वारेन्टाइनलाई तयार राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र पठाएको छ । कोरोना महामारीको जोखिम बढेको भन्दै गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डसमेत अनिवार्य लागू गर्न निर्देशन दिएको हो ।

जिल्लामा कोभिड व्यवस्थापन र रोकथाम तथा नियन्त्रणसम्बन्धी काम प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले गर्छ । केन्द्रमा संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) यससम्बन्धी निर्णय गर्न सरकारलाई सुझाव दिने उच्चस्तरीय संयन्त्र हो ।

कोरोना महामारी उच्च रहेका बेला विद्यालय, अन्य शैक्षिक संस्था, सरकारी भवनलगायतलाई क्वारेन्टाइन र आइसोलेसन बनाइएको थियो । गृहले तयारी हालतमा राख्न सकिने क्वारेन्टाइन र आइसोलेसनको विवरण पनि पठाउन जिल्ला प्रशासनलाई निर्देशन गरेको छ । होलीमा बढी भीडभाड नगर्न भनिएको छ ।

मास्क र सेनिटाइजर अनिवार्य रूपमा प्रयोग गराउन पनि गृहले प्रशासन र सुरक्षा निकायलाई निर्देश गरेको छ । सरकारको निर्देशन अटेर गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को जनस्वास्थ्यसम्बन्धी व्यवस्थाअनुसार कारबाही गर्ने भनिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले महामारीलको जोखिम ध्यानमा राखी स्वास्थ्य मापदण्ड पालना गर्न र संक्रमण देखिएका तथा बाहिरबाट आएकालाई क्वारेन्टाइन र आइसोलेसनमा राख्ने व्यवस्था मिलाउन परिपत्र गरिएको बताउनुभयो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

सम्बन्धित खबरहरु