काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले प्रहरी सङ्गठन सुधारका विषयमा गृह मन्त्रालय गम्भीर रहेको र त्यस सम्बन्धमा मन्त्रालयले छलफल अघि बढाएको बताउनुभएको छ । उहाँले प्रहरीको भौतिक पूर्वाधार निर्माण तथा वृत्ति विकासलगायतका सवालमा पनि गृह मन्त्रालयले ध्यान दिएको जानकाी दिनुभयो ।

 

प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा आज गृहसचिव न्यौपानेले शान्ति सुरक्षामा चुस्त पार्ने गरी काम गर्न प्रहरीलाई निर्देशन दिनुभयो । सो अवसरमा उहाँले प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरको अवलोकन तथा निरीक्षण गर्नाका साथै उक्त सेन्टरबाट भिडियो कन्फरेन्सद्वारा सातवटै प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षाबारे जानकारी लिँदै प्रदेश प्रहरी प्रमुखलाई निर्देशन दिनुभयो ।

उहाँले सबै प्रदेशको शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्न तथा आ–आफ्नो क्षेत्रमा तस्करी नियन्त्रण एवं राजस्व वृद्धिमा थप सक्रियता बढाउनुपर्ने बताउनुभयो । आगामी वर्ष पनि बेरुजु फछ्र्योटमा सर्वोत्कृष्ट हुनेतर्फ ध्यान केन्द्रित गरी समूह बनाएर थप सक्रियताका साथ लाग्न उहाँले सुझाव दिनुभयो । सो क्रममा उहाँले प्रहरी प्रधान कार्यालयबाट भए गरेका गतिविधि तथा प्रगतिसम्बन्धी जानकारी लिनुभएको थियो ।

निरीक्षणपश्चात् आयोजित समारोहमा गृहसचिव न्यौपानेले प्रहरी कर्मचारीलाई आफ्नो आचरण एवं अनुशासनमा संवेदनशील भई पूर्ण इमान्दारिताका साथ जिम्मेवारी बहन गर्न निर्देशन दिनुभयो । उहाँले नेपाल प्रहरी सङ्गठनको सुदृढीकरण र शुद्धीकरणमा गृहमन्त्रालय सदैव दृढ एवं क्रियाशील रहेको जानकारी दिनुभयो ।

प्रहरीका कार्यालयको गतिविधि अनुगमन तथा कारवाही प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयको प्रशासन सुधार योजना कार्यान्वयनका साथै अपराध अनुसन्धान तथा नियन्त्रण, क्षमता अभिवृद्धिलगायतका कार्ययोजनामा प्रहरी सङ्गठन निरन्तर सुधारको पक्षमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गृहसचिवबाट प्राप्त निर्देशनलाई नेपाल प्रहरीले थप जिम्मेवारी बोधसहित कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रहरी कर्मचारीले इमान्दार भई कार्यसम्पादन गर्नुपर्ने उहाँको जोड थियो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरीले आन्तरिक शुद्धीकरणलाई निरन्तरता दिई प्राथमिकतामा राखेर नेपाल प्रहरीलाई एउटा प्रणालीमा ल्याउने प्रयास गरिरहेको बताउनुभयो ।

प्रहरी कर्मचारीको आचरण व्यवहारलाई अझै सुधार गर्न नेपाल प्रहरीले विभिन्न कार्य योजना तय गरी मासिक समीक्षा गर्दै यसको पूरा कार्यान्वयनमा जोड दिएको उहाँले बताउनुभयो । उक्त अवसरमा प्रहरी उपरीक्षक मनोजकुमार केसीले नेपाल प्रहरीको गतिविधि तथा प्रगतिसम्बन्धी समीक्षात्मक प्रस्तुति दिनुभएको थियो ।

सम्बन्धित खबरहरु