काठमाडौं । छिमेकी मुलुक भारतका विभिन्न राज्यमा कोरोना संक्रमण तीव्र बनेसँगै रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरू धमाधम घर फर्कन थालेका छन् । यसरी फर्कनेमा संक्रमितसमेत रहेका छन् ।

स्वदेश भित्रिने क्रममा गौरीफन्टा नाकामा स्वास्थ्य परीक्षण गर्दा पछिल्लो दुई दिनमा १४ जनामा संक्रमण पुष्टि भएको नाकास्थित हेल्थ डेस्कमा खटिएका स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी अमित विकले जानकारी दिनुभयो । अघिल्लो वर्ष यही समयमा संक्रमणको त्रासले घर फर्किएकाहरू आर्थिक जोहो गर्न जोखिमका बीच फेरि भारततिरै लागेका थिए ।

अहिले भारतमा पुनः पहिलेकै जस्तो अवस्था दोहोरिन थालेपछि उनीहरू धमाधम घर फर्कन थालेका हुन् । विकका अनुसार उनीहरूसँगै कोरोना पनि भित्रिने डर भयो । उहाँले मंगलबार ६ जना, बुधबार ८ जना संक्रमित फेला परेको बताउनुभयो ।

संक्रमितहरुलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ । हालसम्म कुनै लक्षण नदखिएको संक्रमितहरूले बताएका छन् । घर फर्कनेको संख्या बढेपछि चैत पहिलो सातादेखि स्वास्थ्य कार्यालयले सीमामा हेल्थ डेस्क राखेर परीक्षणपछि मात्रै प्रवेश गर्न दिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु