काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत शाहलाई सफल कार्यकालको शुभकामना दिनुभयो ।

सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६१ वर्ष लामो कूटनीतिक सम्बन्धमा कहिल्यै तिक्तता नआएको बताउँदै दुई देशका जनताबीचको सम्बन्ध अझ पुरानो रहेको चर्चा गर्नुभयो ।

उहाँले निर्मल पूर्जा मगर नेतृत्वको नेपाली हिमाल आरोहीले यसै वर्ष पाकिस्तानको केटु हिमाल आरोहणमा प्राप्त गरेको ऐतिहासिक सफलतापछि पाकिस्तानका प्रधानमन्त्री, सेना प्रमुख लगायतले गर्नुभएको न्यानो स्वागत र प्रदान गर्नुभएको हौसलाका लागि आभार व्यक्त गर्नुभयो ।

सङ्घीय संसद्मा नेपाल–पाकिस्तान संसदीय मैत्री समूह रहेको जानकारी गराउँदै सभामुख सापकोटाले संसद्–संसदबीचको सम्बन्धलाई थप विकास, विस्तार र सुदृढीकरण गर्दै दुवै देशको समृद्धिका सम्भावना खोज्दै अघि बढ्न सकिने बताउनुभयो ।

उहाँले दुई देशबीच कृषि, जलविद्युत्, पर्यटन, सूचना–प्रविधिलगायतका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना औँल्याउनुभयो ।

राजदूत शाहले दुई देशबीच औपचारिक सम्बन्धले छ दशक पार गरेको र जनताजनताबीच लामो ऐतिहासिक र सांस्कृतिक सम्बन्ध रहेको चर्चा गर्नुभयो ।

उहाँले आफ्नो कार्यकालमा नेपालमा व्यापारलगायत क्षेत्रमा सहकार्यका लागि गुणात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पर्वतारोहण, जलविद्युत्लगायत क्षेत्रमा सहकार्यका सम्भावना खोज्न पहल गर्ने उहाँको भनाइ छ ।

सम्बन्धित खबरहरु