काठमाडौं । उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका सार्वजनिक स्थानमा भीडभाड गरी फागु खेल्न निषेध गरिएको छ । कोरोना भाइरस महामारीको जोखिम बढेकाले भीडभाड गरी सार्वजनिक स्थानमा होली खेल्न निषेध गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । यो वर्ष फागु पहाड तथा उपत्यकामा चैत १५ र तराईमा १६ गते परेको छ ।

यसअघि तीनवटै जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गरी कोरोना सङ्क्रमण बढ्दै गएकाले होलीमा भीडभाड नगरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई घरपरिवारबीच मनाउन अपिल गरेको थियो ।

महानगरीय प्रहरी कार्यालय प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले जिल्ला प्रशासन कार्यालयहरूको निर्णयलाई थप सहयोग पुग्ने गरी सार्वजनिक स्थानमा होली खेल्न रोक लगाइएको जानकारी दिनुभयो ।

सडक, चोक तथा सार्वजनिक स्थानमा भीड थुपारेर होली पर्व मनाउने, पानी छ्याप्ने, लोला हान्ने र जबर्जस्ती रङ अबिर दल्ने कार्यमा रोक लगाइएको स्पष्ट पार्दै उहाँले सुरक्षित रूपमा होली खेल्न आग्रहसहित सर्वसाधारणको सचेतनाका लागि ‘माइकिङ’ गरिने बताउनुभयो । यही १५ गते होली पर्वमा सुरक्षा व्यवस्थापनका लागि करिब पाँच हजार सुरक्षाकर्मी परिचालन हुनेछन् ।

सम्बन्धित खबरहरु