काठमाडौं । ‘बेनीको बजार,जता मायाँ उतै छ नजर’ गीतका गायकको निधन भएको छ । गीत संगीतमार्फत म्याग्दीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको हो ।

जन्मथलो म्याग्दीबाट बसाइ सरी रुपन्देहीमा बसोवास गर्दै आउँनु भएका श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार बुटवलमा निधन भएको परिवारले जानकारी दिएको छ । ‘बेनीको बजार,जता मायाँ उतै छ नजर’ बोलको गीत श्रेष्ठले २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरेपछि विश्वभरका नेपालीमाझ निकै चर्चित भयो ।

श्रेष्ठकी श्रीमती मन छन्त्याल र रचनाकार श्रेष्ठको युगल स्वर रहेको यो गीत अहिलेसम्म पनि सबैको मुखमा झुण्डेको छ । यही गीतका आधारमा नै बेनी बजारलाई मायालुको सहर भनेरसमेत चिन्न थालियो ।

लामो समयसम्म मिर्गौलासम्बन्धी समस्याले ग्रसित गायक श्रेष्ठले निरन्तररूपमा डायलासिस गराइरहनु भएको थियो । उनको निधनले लोक सङ्गीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको यस क्षेत्रमा लागेकाहरुले बताएका छन् ।

सम्बन्धित खबरहरु