काठमाडौं । नेकपा (एमाले) को आजको संसदीय दलको बैठकले संसद्मा पार्टीको भूमिकालाई एकताबद्ध र प्रभावकारी बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा आशन्न बजेट तर्जुमाका क्रममा सांसदहरुका सुझाव र प्रस्तावित योजनालाई विधिसम्मतरुपमा प्रस्तुत गर्न आग्रह गरिएको छ ।

बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सांसदहरुलाई उक्त आग्रह गर्नुभएको थियो । आजको बैठकमा गत बैठकमा अनुपस्थित रहेका र पार्टीका गतिविधिमा सार्वजनिक असन्तुष्टि व्यक्त गर्दै आएका वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताहरु पनि सहभागी हुनुभएको थियो ।

बैठकमा दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २८ गतेको केन्द्रीय कमिटीको विशेष बैठकले गरेका निर्णय र त्यसपछिका बैठकका निर्णयहरु फिर्ता नहुने स्पष्ट गर्दै संसदीय दलको संशोधित विधान पारित भइसकेले त्यसको कार्यान्वयन हुने जानकारी दिनुभएको थियो । उहाँले भन्नुभयो, “पछि कालान्तरमा आवश्यक परेमा संशोधन गरौँला ।

अहिले तलमाथि गर्न सकिँदैन । र अब पार्टीमा समूहगतरुपमा कुनै सम्झौत वा वार्ता हुँदैन । बैठकमा आएर आफ्ना कुरा वा व्यक्तिगत समस्या राखेमा छलफल गरेर समाधान गर्न सकिन्छ ।” उहाँले अब दलको नियमित बैठक बस्ने, सांसद्को क्षमतावृद्धि गर्ने र संसद्मा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन नेतृत्वले सहजीकरण गर्ने पनि बताउनुभएको थियो ।

सो दलका प्रमुख सचेतक विशाल भट्टराईले बैठकमा दलका नेता एवं प्रधानमन्त्री ओलीले नेताहरु माधवकुमार नेपाल र भीमबहादुर रावलबाट प्रस्तुत गरिएका स्पष्टीकरणको जवाफ सन्तोषजनक नभएको र कारबाहीको भागिदार हुने जनाउनुभएको बताउनुभयो ।

एमालेका चार नेतालाई स्पष्टीकरण सोधिएकामा सुरेन्द्र पाण्डे र घनश्याम भुसालबाट स्पष्टीकरण आउन बाँकी छ । आजको बैठकमा नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्णराज विष्टलगायतले पार्टीलाई एकताबद्ध बनाउने गरी अघि बढ्न अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु