काठमाडौं । होली पूर्णिमाका अवसरमा लागेको मेलामा दोहोरो लडाँईपछि दुई युवाको मृत्युका विषयमा अनुसन्धान गर्न प्रहरी प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ ।

बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा भएको घटनाका विषयमा अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको टोली घटनास्थलतर्फ लागेको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार घटना भएलगत्तै मगरको कमाण्डमा ११ जनाको टोली बुर्तिबाङ प्रस्थान गरेको हो । आइतबार दिउँसो दुई समूहबीच लडाँई हुँदा दुई जनाको मृत्यु भएको थियो ।

हिजो राति नै गलकोटबाट प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेको थियो । लडाँईपछि निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र सोही ठाउँका ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको छ ।

मृतकको लाश परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्यचौकीमा हिजो राति नै ल्याइएको हवारीले बताउनुभयो । उनीहरुको भिरबाट ५०० मिटर तल खसेको अवस्थामा लाश भेटिएको थियो । अन्य केही हराएको भन्दै खोजी भइरहेको छ ।

मृतक कुँवर नेपाली कांग्रेसका जिल्ला सदस्यसमेत हुनुहुन्थ्यो । स्थानीयवासीका अनुसार दिउँसो होली मनाउन जम्मा भएका युवाहरूको बीचमा भनाभन हुँदा लडाँई भएको थियो ।

सम्बन्धित खबरहरु