काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डमाथि सर्वोच्च अदालतलाई मजाक बनाउन खोजेको आरोप लगाउनु भएको छ ।

एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गर्न नचाहेको पनि बताउनुभयो । सर्वोच्चले पार्टी फेरि एकता गर्ने भए १५ दिनभित्र नयाँ नाम लिएर निर्वाचन आयोगमा जान भने पनि प्रचण्डले चासो नदिएको उहाँको आरोप रहेको छ ।

राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । आफूले फैसला आएकै दिन प्रचण्डलाई टेलिफोन गरेर छलफल गरौं भन्दा केन्द्रीय कमिटीको बैठक बसेर खबर गर्छु भनेको टार्न खोजेको आरोप लगाउनुभयो । सर्वोच्चले पार्टी एकता खारेज गरेको भन्नु ठीक नभएको ओलीले टिप्पणी गर्नुभयो ।

आफूले फोन गर्दा चासो नदिने अनि अदालतले फुटाइदियो भन्नु उचित नहुने उहाँको बुझाई रहेको छ । आज सर्वोच्व अदालतको फैसला पुनरावलोकनका लागि प्रचण्ड अदालत पुगेको तर्फ संकेत गर्दै उहाँले अदालतको मजाक बनाउन खोजेको आरोप लगाउनुभयो ।

नेकपा नाम ऋषि कट्टेललाई दिँदै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनको निवेदन दर्ता गराएको छ । अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू मंगलबार दिउँसो सर्वोच्च पुगेर निवेदन दर्ता गराएका हुन् ।

सम्बन्धित खबरहरु