काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्नसक्ने कार्यक्रम मात्रै प्रस्ताव गर्न मन्त्रालयलाई आग्रह गर्नुभएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आज भएको छलफलमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्नसक्ने कार्यक्रम र सोहीअनुसार बजेट प्रस्ताव गर्न अनुरोध गर्नुभएको हो ।

खर्च हुन नसक्ने भएकाले ‘सरेन्डर’ गर्नुपर्ने अवस्था पनि रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बहुवर्षीय योजनामा पनि जति खर्च गर्ने हो, त्यहीअनुसार बजेट राख्न आग्रह गर्नुभएको हो ।

सिलिङभित्र रहेर बजेट निर्माण गर्नुपर्ने सीमा रहेको बताउँदै उहाँले बजेट कार्यान्वयन गर्नसक्ने संयन्त्रलाई पनि ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

प्राथमिकताका आधारमा कार्यक्रम प्रस्ताव गर्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले अन्तरमन्त्रालयबीच समन्वयको आवश्यकता औँल्याउनुभयो । उहाँले कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावलाई बजेट र नीतिमार्फत सम्बोधन गर्ने उल्लेख गर्नुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ बाट पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएकाले त्यसलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

आर्थिक सल्लाहकार डा प्रकाशकुमार श्रेष्ठले साना कार्यक्रमभन्दा सङ्घीयताको मर्म र भावनाअनुसार ठूला र विशेष कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा समावेश गर्नुपर्ने कार्यक्रम तथा बजेटबारे मन्त्रालय र सरोकारवालासँग छलफल गर्नुका साथै सुझाव पनि सङ्कलन गरेको छ ।

सम्बन्धित खबरहरु