काठमाडौं । चर्चित भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना हुनुभएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएको पाँच दिनपछि उहाँ अस्पताल भर्ना हुनुभएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

उहाँको स्वास्थ्य अवस्था झन झन बिग्रिदै गएपछि थप उपचारको आवश्यकता रहेको भन्दै चिकित्सकहरुले अस्पताल भर्ना हुन सुझाव दिएका थिए ।

खेलाडी तेन्दुलकर कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भए पनि उहाँका परिवारजनको परीक्षण गर्दा भने सङ्क्रमण नभएको देखिएको छ ।

शुक्रबार उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ, “मेरो स्वास्थ्यप्रति चिन्ता र चासो जनाउँदै स्वास्थ्य लाभको कामना गर्नुभएका सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।”

उहाँले चिकित्सकहरुको सुझावका आधारमा आफू अस्पताल भर्ना भएको र आफु चाँडै नै निको भएर घर फर्किने विश्वास समेत व्यक्त गर्नुभयो ।

खेलाडी तेन्दुलकरले अरु सबैलाई सुरक्षित रहन र सतर्कता अपनाउन पनि सामाजिक सञ्जालमार्फत आह्वान गर्नुभएको छ । सन् १९७३ को २४ अप्रिलमा भारतको मुम्बईमा जन्मिनु भएका तेन्दुलकर भारतको क्रिकेट टोलीको कप्तान हुनुभएको थियो ।

सन् २०११ क्रिकेट विश्वकप भारतले जित्दा भारतीय खेलाडीको टोलीको नेतृत्व तेन्दुलकरले नै गर्नुभएको थियो । उहाँले भारतको लागि ६ क्रिकेट विश्वकप खेल्नुभएको छ ।

उहाँले सन् १९८९ मा पाकिस्तान विरुद्ध कराँचीमा भएको टेस्ट खेलबाट आफ्नो खेल जीवन प्रारम्भ गर्नुभएको थियो । टेस्ट तथा एक दिवसीय क्रिकेट गरी दुवैमा सर्वाधिक रन तथा शतक बनाउने इतिहास पनि उहाँकै नाममा छ ।

टेस्ट क्रिकेटमा ४९ शतक तथा एक दिवसीय क्रिकेटमा ५१ शतक बनाउनुभएको छ भने पुरुष समूहको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो खेलाडी पनि तेन्दुलकर नै हुनुहुन्छ ।

सम्बन्धित खबरहरु