काठमाडौं । नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई केन्द्रमा राखेर पार्टीका सबै तह र तप्काका व्यक्ति एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

बिपी विचार राष्ट्रिय समाजको तेस्रो साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै उहाँले देशको राजनीतिक वातावरण बिग्रँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

“राजनीतिलाई पेशा बनाइएको छ, त्यसबाट प्राप्त शक्ति, सम्मान र मर्यादालाई व्यक्तिगत वा समूहगत स्वार्थमा प्रयोग गरिदैछ”, बिपी कोइरालाले देखाएको बाटोलाई बेवास्ता गरेकाहरुप्रति इङ्गीत गर्दै समाजका अध्यक्षसमेत रहनुभएका गुरुङले भन्नुभयो ।

बिपी कोइरालाका अनुयायीले देश र जनताका निम्ति निष्ठाका साथ काम गर्नुपर्ने जनाउँदै राष्ट्रियताको अडान नत्याग्ने बिपीको सिद्धान्तको पालना गर्न पार्टीका सबै तहका कार्यकर्तालाई आग्रह गर्नुभयो ।

पूर्वसभामुख तारानाथ रानाभाटले बिपी कोइरालाले प्रतिपादन गर्नुभएको राजनीतिक विचार र सिद्धान्तलाई सत्ता स्वार्थमा लागेर परित्याग गरेका कारण नेपाली कांग्रेस दिशाहीन हुँदै गएकामा खेद प्रकट गर्नुभयो ।

समाजका सहसभापति गोविन्दराज जोशीले राष्ट्रियताको संरक्षण, लोकतन्त्रको स्थायित्व, आर्थिक उन्नति र जनताको जीवनस्तर उठाउने गुरुत्तर दायित्व बोकेको नेपाली कांग्रेस विखण्डित भएको बताउनुभयो ।

संवैधानिक कानूनका जानकार भीमार्जुन आचार्यले लोकतान्त्रिक संस्था र तिनका संरचनालाई सुदृढ तुल्याउन नेपाली कांग्रेसमात्र नभई सम्पूर्ण नेपाली जनताले आवाज उठाउन जरुरी भएको विचार व्यक्त गर्नुभयो ।

दार्चुला, डडेल्धुरा, मनाङ, मुस्ताङ, भक्तपुर र तेह्रथुमबाहेक सातै प्रदेशका ७१ जिल्लामा विस्तार भएको समाजको दुईदिने अधिवेशन नयाँ नेतृत्व चयन गर्दै आइतबार समापन हुनेछ ।

सम्बन्धित खबरहरु