काठमाडौँ, २३ चैत (रासस) ः परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट हालै भएको बङ्गलादेशको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउन सफल भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वका विषयमा वक्तव्य दिँदै मन्त्री ज्ञवालीले दुई देशका राष्ट्र प्रमुखबीचको भ्रमण र दुईपक्षीय छलफल, उच्चस्तरीय सहमति र सम्झौताले सम्बन्धलाई थप उचाइमा लैजान तथा आर्थिक साझेदारी र व्यापार प्रवद्धर्नका निम्ति ठोस उपलब्धी हासिल भएको स्पष्ट गर्नुभयो ।

बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदको निमन्त्रणामा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले गत चैत ९ र १० गते बङ्गलादेशको दुई दीवसीय राजकीय भ्रमण गर्नुभएको थियो । भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले बङ्लादेशका राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य राजनीतिक दलका नेतासँग दुई पक्षीय विषयमा केन्द्रित रही विचार विमर्श गर्नुभएको थियो ।

परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका अवसरमा नेपाल र बङ्गलादेशका राष्ट्र प्रमुखबीच भएका दुई पक्षीय छलफल र सम्झौता तथा राजनीतिकस्तरमा गरिएका समझदारीले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउन सहयोग पुगेको सदनलाई जानकारी गराउनुभयो ।

भ्रमणका क्रममा दुई देशका राष्ट्रप्रमुखबीच भएको दुई पक्षीय वार्तामा आर्थिक साझेदारी विकासमा ठोस कदम चाल्ने, दुई देशबीच व्यापार प्रवद्र्धन साझेदारी, सन्तुलित व्यापार तथा पारवहन, सडक र हवाई यातायातलगायतका पूर्वाधारको क्षेत्रमा सहयोग आदान प्रदान गर्ने विषयमा सहमति भएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै नेपाल ऊर्जामा क्रमशः आत्मनिर्भरतातर्फ उन्मुख भएको र ऊर्जा बजारको खोजीसहित त्यसको व्यापारका सम्बन्धमा पनि दुई देशको नेतृत्वबीच ठोस कुराकानी भएको उहाँले बताउनुभयो ।

भ्रमणको अवसरमा बङ्गलादेशले नेपाललाई उपलब्ध गराउँदै आएको पारवहन सुविधालाई थप विस्तार र स्तरोन्नति गर्ने, पर्यटन प्रवद्र्धन, संस्कृति आदान–प्रदान हवाई यातायातमा साझेदारी, विभिन्न विषयका अध्ययनमा दुबै देशले विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने तथा जलवायु परिवर्तनको उच्च जोखिम न्यूनीकरणका लागि दुई पक्षीय र बहुपक्षीय समाधानबारे छलफल भएको मन्त्री ज्ञवालीले बताउनुभयो ।

मन्त्री ज्ञवालीका अनुसार राष्ट्रपति भण्डारीको बङ्गलादेश भ्रमणको अवसरमा नेपाल र बङ्गलादेशबीच महत्वपूर्ण चार विषयमा सम्झौता भएका छन् । जसअनुसार बंगलादेशबाट भारतको पश्चिम बंगाल हुँदै नेपालको सीमा नाकासम्म करिब ३२५ किलोमिटर दूरीको पारवहन मार्ग उपयोग गर्नसक्ने गरी रेल्वे मार्ग निर्माण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

त्यसैगरी दुबै देशका पर्यटन बोर्डलगायत अन्य निकायबीचको सहयोग आदान–प्रदान गरी दुबै देशका पर्यटकीय गन्तव्यको प्रचार–प्रसार गर्ने र लामो समय छुट्टी दिएर एक–अर्को देश भ्रमणमा प्रेरित गर्ने सहमति भएको छ । खाद्य, वनस्पतीजन्य वस्तुको व्यापार तथा विषादी प्रयोग आदान प्रदानबारे महत्वपूर्ण सम्झौता भएको छ ।

सम्बन्धित खबरहरु