काठमाडौं । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले योगमायाले राणा शासनकालमा सतिप्रथा अन्त्यका लागि गरेको योगदान स्मरणीय रहेको बताउनुभएको छ ।

मोरङको ग्रामथान गाउँपालिकास्थित झोराहाट नाटकघरमा सोमबार ‘योगमाया’ नाटक अवलोकन गरेपछि उहाँले दुर्गम भोजपुरजस्तो पहाडी भूभागमा रहेर सतिप्रथा एवं जहानियाँ राणा शासन अन्त्यमा उहाँको ठूलो योगदान रहेको चर्चा गर्नुभयो ।

प्रमुख अधिकारीले ६८ महिलालाई आफूसहित अरुण नदीमा फाल हान्न लगाउने योगमायाको साहसिक कार्यबाट मुलुकमा महिला सङ्गठन निर्माण भएको स्मरण गर्नुभयो ।

उहाँले आशीर्वाद थाप्ने त्यो समयमा विद्रोह गर्नु ठूलो साहस रहेको चर्चा गर्दै महिलाले परिवर्तनका लागि लड्नु भनेको ‘झुण्डाइने वा झुण्डिनु’ मात्र कार्य रहेको भन्नुभयो ।

उहाँले छुवाछूतलगायत समाजमा रहेको विभेद अन्त्यमा योगमायाको योगदान समाजले अहिलेसम्म स्मरण गरेको चर्चा गर्दै नाट्यघरको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा नाटकघर सञ्चालक एवं लेखक भरत गुरागार्इँ ‘बर्बरिक’ले नाटकलाई ग्रामीण क्षेत्रका साथै भोजपुरमा समेत मञ्चन गरिने जानकारी दिनुभयो । सो नाटकको निर्देशन तराईका आदिवासी जनजाति प्रदीप सरदारले गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु