काठमाडौं । नेपाल–चीनको सिमाना हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकीलाई सञ्चार सम्पर्क गर्न कठिन भएको छ ।

नेपाल टेलिकमको ल्याण्डलाइनले काम नगर्दा र वल्र्डलिङ्कको इन्टरनेट सेवा बिग्रिएपछि चौकीसँग सञ्चार सम्पर्क गर्न कठिन भएको हो ।

हिल्सामा स्थापना भएका सञ्चारमाध्यमले काम गर्न छाडेपछि सीमा सुरक्षा चौकीसँग सम्पर्क गर्न कठिन भएको सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारीले बताउनुभयो ।

वल्र्डलिङ्कको इन्टरनेट सेवाले सम्पर्क गर्न केही सहज भए पनि हाल सो सेवा बिग्रिएपछि यतिखेर सम्पर्क गर्न कठिन भएको उहाँले बताउनुभयो ।

त्यतिमात्रै नभई सो ठाउँको अर्को टेलिकमको भिस्याट टेलिफोनसमेत बिग्रिएको उपरीक्षक भण्डारीले बताउनुभयो ।

चौकीका लागि स्थापना भएको भिस्याटबाट सिधै क्षेत्रीय र प्रधान कार्यालयमा मात्र सम्पर्क हुने र हिल्साको चौकीका बारेमा बुझ्न आफूले केन्द्रसँग सम्पर्क गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

उक्त सीमाक्षेत्रमा सोलारबाट सञ्चालन हुने भिस्याटमा घाम लागेको दिन मात्रै सम्पर्क हुने नत्र सम्पर्कविहीन हुने गरेको छ ।

यस वर्ष हिमपात कम भएका कारण चार हजार छ मिटर अग्लो नारालेक पार गरेर यारीमा आएपछि टेलिकमको सम्पर्कमा जोडिने गरेको छ ।

चौकीमा खटिएका सुरक्षाकर्मीले घरपरिवार र आफन्तसँग सम्पर्क गर्न सक्ने अवस्था अझै न्यून छ । दुई वर्ष अगाडि नै नारालेकमा टावर बन्ने गरी बोलपत्र गरेको भए पनि हालसम्म सो टावर बनेको छैन ।

सम्बन्धित खबरहरु