काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा नेपाल प्रहरी अस्पतालले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताउनुभएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जको ३७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै क्षेत्रीले सङ्क्रमणका बेला प्रहरी अस्पतालले देखाएको लगन र निष्ठा उल्लेखनीय रहेको र आगामी दिनमा थप सतर्क र लगनशील भएर काम गर्न चिकित्सक तथा कर्मचारीलाई निर्देशन दिनुभयो ।

नेपाल प्रहरी अस्पतालबाट शुभारम्भ भएका नयाँ सेवा कार्यान्यवनमा सदैव निरन्तर र दीर्घकालीन हुनुपर्नेमा उहाँको जोड थियो । नेपाल प्रहरी अस्पतालको सहयोगका लागि प्रहरी प्रधान कार्यालय प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

नेपाल प्रहरी अस्पताललाई अहिलेको अवस्थामा ल्याउन पूर्वमहानिरीक्षकले निर्वाह गरेको योगदानको पनि उहाँले प्रशंसा गर्नुभयो । समारोहमा उहाँले अस्पतालको बील तथा रिपोर्टका लागि अनलाइन सुविधा लिन सकिने प्याटियन्ट पार्टलको उद्घाटन पनि गर्नुभयो ।

उहाँले पूर्वप्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारको लागि प्रहरी कल्याण कोषमार्फत आएको रु दुई करोड अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहलाई हस्तान्तरण गर्नुभयो ।

अस्पतालका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले स्वास्थ्य क्षेत्रमा आएका नवीनतम् प्रविधि र पद्धतिलाई अङ्गिकार गरी स्वस्थ वातावरण तथा बिरामीमैत्री सेवा प्रदान गर्न सदैव प्रयासरत रहेको जानकारी दिनुभयो ।

समारोहमा अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेख समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०७७’ र नेपाल मेडिकल जर्नलको लोकार्पण गरिएको थियो ।

अस्पतालको सेवा प्रवाहमा योगदान गर्दै २५ वर्षसम्म सेवा गर्ने प्रहरी कर्मचारीलाई कदरपत्र तथा अस्पतालको सेवा प्रवाहमा महत्वपूर्ण योगदान पु¥याउने महानगरीय सशस्त्र प्रहरी गण महाराजगञ्ज र सङ्घ संस्थालाई प्रशंसापत्र प्रदान गरियो ।

सम्बन्धित खबरहरु