काठमाडौं । देशमा शान्तिको कामनाले गरिने देशोद्धार पूजा एवं जात्राको छैटौँ दिन आज रातभर पशुपति क्षेत्रस्थित वत्सलेश्वरी मन्दिरमा देवीको पूजा आराधना गरिँदैछ ।

चैत्र कृष्ण त्रयोदशीका दिन कर्माचार्य थरका पूजारीले बलिदान एवं पञ्चमकारसहित रातभर पूजा गर्ने प्राचीन परम्परा रहेको पशुपति क्षेत्र विकास कोषको तर्फबाट पर्व एवं जात्रा हेर्नुहुने वरुण खतिवडाले राससलाई जानकारी दिनुभयो ।

पशुपति क्षेत्रका नौ शक्तिपीठमा आज राति पूजा गरिने छ । यहाँका नौ शक्तिपीठ गुह्येश्वरी, राजराजेश्वरी, वनकाली, भुवनेश्वरी, जयवागेश्वरी, झम्केश्वरी, बालकुमारी, मनमानेश्वरी र निर्वाणेश्वरीमा पूजा आराधना गरिन्छ । यस अवसरमा चार जात ६४ वर्णका ७२ कन्यालाई पूजा गरिन्छ ।

कन्या पूजाका लागि अबिर पीठको विशेष आसन बनाइन्छ । चैत्रकृष्ण द्वादशीका दिन बिहीबार बज्रेश्वरी (पिङ्गलास्थान) मा विशेष पूजा गरिएको थियो ।

चैत्र कृष्ण अष्टमीदेखि चैत्र शुक्ल द्वितीयाससम्म पशुपति क्षेत्रमा देशोद्धार पूजा एवं जात्राका विविध कर्म हुने गरेको छ । यो पूजा र जात्राको परम्परा लिच्छवीकालदेखि चल्दै आएको छ ।

सम्बन्धित खबरहरु