काठमाडौं । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ ।

आज परेको सोमबारे औँशी यस वर्षको तेस्रो सोमबारे औँशी हो । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम वर्षमा दुईदेखि तीन पटकसम्म सोमबारे औँशी पर्ने गरेको बताउनुहुन्छ ।

सोमबारे औँशी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले बताउनुभयो ।

औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन मातापिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीय रुपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक परम्परा छ ।

मातापिता नहुनेले भने औँशी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन् । यसका लागि पनि सोमबार परेको औँशी विशेष रुपमा मानिने गरेको धर्मशास्त्रविद् गौतमले बताउनुभयो । यसअघि गत साउन ५ र मङ्सिर २९ गते पनि सोमबारे औँसी परेको थियो ।

सम्बन्धित खबरहरु